गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।
आइतबार सार्वजनिक विज्ञप्तिमा उनले पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका भ्रामक प्रचार र चरित्र हत्या प्रयासप्रति आपत्ति जनाउँदै राजीनाको घोषणा गरेकी हुन्।
गंगाले सचिवालयमा रहँदा निस्वार्थ रूपमा काम गरेको उल्लेख गर्दै, व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम नगरेको स्पष्ट पारेकी छन्। तर, विवादमा तानिँदै आएको कारण आफूले आत्मआलोचना पनि गरेको बताइन्।
उनले योजनाबद्ध रूपमा आफूलाई देखाएर पार्टी र संयोजक प्रचण्डविरुद्ध गरिएका प्रचारको विरोधस्वरूप राजीनामा दिएको जनाएकी छन्। यद्यपि, उनले पार्टीमा जिम्मेवार कार्यकर्ता भएर निरन्तर सक्रिय रहने बताएकी छन्।