ओलीलाई मोटरसाइकल स्कर्टिङ गर्दै जावलाखेल पुर्याइयो, प्रहरीले र्याली नगर्न आग्रह
काठमाडौँ, २९ असोज — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको गुण्डुबाट मोटरसाइकल स्कर्टिङ गर्दै जावलाखेलस्थित पार्टी प्यालेस (रामबाग महल) पुर्याइएको छ। ओलीको उपस्थितिमा पार्टीको केन्द्रीय समिति बैठक आज सोही स्थानमा बस्ने कार्यक्रम रहेको छ।
ओलीको स्वागतका लागि राष्ट्रिय युवा सङ्घ नेपालले मोटरसाइकल स्कर्टिङ कार्यक्रम आयोजना गरे पनि ललितपुर प्रहरीले जुलुस र र्याली नगर्न आग्रह गरेको छ। ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार यसअघि नै जिल्ला प्रशासन कार्यालयमार्फत यस्ता गतिविधि नगर्न अनुरोध गरिएको थियो।
“जुलुस नगर्नु भनेर जिल्ला प्रशासन कार्यालयले पहिले नै आग्रह गरिसकेको छ,” एसएसपी बोगटीले बताए।
जावलाखेलस्थित भनिमण्डलको पार्टी प्यालेसमा आज मध्यान्ह एमाले केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ। बैठक स्थल वरपर सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ।
एमालेको बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा आन्तरिक समीक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।