जेनजी आन्दोलनका अगुवा अर्जुन शाही पक्राउ, ठगी र धम्कीका अभियोग
काठमाडौँ, २९ भदौ २०८२ — जेनजी आन्दोलनका अगुवा अर्जुन शाहीलाई प्रहरीले बुधबार साँझ कोटेश्वरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन भट्टराईका अनुसार शाहीमाथि आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।
अछाम जिल्ला, पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरमा फरार अभियुक्तसमेत रहेका छन्। प्रहरीका अनुसार उनीविरुद्ध यसअघि दर्ता भएका मुद्दाहरूको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो।
शाही नेतृत्वको समूहले पछिल्लो समय नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पुगेर नेतृत्वविरुद्ध ज्ञापन पत्र बुझाउने नाममा धम्कीपूर्ण व्यवहार गरेको आरोप लागेको छ।
शाही समूहले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेको थियो भने नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई “घरबाटै थुत्ने” चेतावनी दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
शाही जेनजी आन्दोलनपछि निकै चर्चामा आएका थिए। उक्त आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बनेको सन्दर्भमा आयोजित शपथग्रहण समारोहमा समेत उनी सहभागी भएका थिए।
प्रहरीले शाहीमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।