शाही समर्थक समूहको मोटरसाइकल र्याली प्रहरीद्वारा रोकियो
काठमाडौं, सामाखुसी —राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै काठमाडौंको सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा अन्य राजावादी समूहलाई प्रहरीले आज बिहान रोकेको छ।
समूहले “भ्रष्टाचारमुक्त समाज” र “राजसंस्थाको पुनर्स्थापना” को माग गर्दै सामाखुसी र एकान्तकुनाबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्याली निकाल्ने तयारी गरिरहेका थिए। तर, सुरक्षाका कारण देखाउँदै प्रहरीले उनीहरूलाई सामाखुसीमै घेरा हालेर र्याली अघि बढ्न रोक लगाएको हो।
र्यालीमा सयौंको संख्यामा युवा सहभागी भएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र राजावादी नारा लेखिएको ब्यानर बोकेका थिए। प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनाब पनि उत्पन्न भएको थियो, तर कुनै ठूला झडपको खबर आएको छैन।
राजसंस्थाको पक्षमा पछिल्ला दिनमा देशका विभिन्न भागमा यस्ता र्याली तथा प्रदर्शनहरू बढ्दै गएको देखिन्छ। सरकारको भ्रष्टाचार र कुशासनको विरोधमा जनस्तरबाट असन्तुष्टि बढ्दै गइरहेको जनाइएको छ।
प्रहरी प्रशासनले भने नागरिकको स्वतन्त्रता कायम राख्ने तर सार्वजनिक सुरक्षामा आँच पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ।