माओवादी केन्द्रका नेता गणेश साहद्वारा पार्टी परित्याग
काठमाडौं, १६ असोज – नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन्। साह पार्टीको केन्द्रीय समिति विघटन हुनुअघि सचिव पदमा थिए।
दृष्टि संचार अनलाइनसँगको कुराकानीमा उनले पार्टी त्यागेको पुष्टि गर्दै भने, “अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि रहिनँ।”
साहका अनुसार पार्टीले आवश्यकताअनुसार एकताको सन्देश प्रवाह गर्न नसकेको कारणले आफू माओवादी केन्द्रमा रहन उपयुक्त नदेखेको हो।
गणेश साहले २०७४ सालमा आफू नेतृत्वको नेकपा (संयुक्त) माओवादी पार्टीलाई माओवादी केन्द्रमा विलय गराएका थिए। त्यसपछि उनी माओवादी केन्द्रको नेतृत्व तहमा सक्रिय रहँदै आएका थिए।
पार्टी परित्यागपछि साहको अबको राजनीतिक यात्रा कता मोडिन्छ भन्नेबारे भने उनले खुलाएको छैन। यद्यपि उनको निर्णयले पार्टीभित्र थप हलचल ल्याउने अनुमान गरिएको छ।