बालुवाटारको त्रिपक्षीय बैठकमा प्रधानमन्त्री कार्की र एमालेका बर्तौलाबीच नोकझोक
बालुवाटारको त्रिपक्षीय बैठकमा एमाले प्रतिनिधिसँग प्रधानमन्त्री सुशीला कार्कीबीच नोकझोक भएको छ । प्रधानमन्त्री कार्कीले डाकेको सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीचको बैठकमा एमाले प्रतिनिधि महेश बर्तौलासँग सवाल–जवाफ भएको हो ।
बालुवाटार स्रोतका अनुसार, प्रतिनिधिसभा पुनःस्थापनाको सन्दर्भमा तीबीच वादविवाद भएको थियो । एमाले प्रतिनिधि बर्तौलाले सरकारको जग नै असंवैधानिक भएको र त्यसरी गठन भएको सरकारले अराजनीतिक तरिकाले संसद् विघटन गरेको आरोप लगाएका थिए । उनले निःशर्त प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गर्दै एमालेको “बटमलाइन” नै पुनःस्थापना रहेको बताए ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको सन्देशको रूपमा बर्तौलाले पुनःस्थापना एमालेको बटमलाइन भएको र चुनावको विपक्षमा उभिनुपर्ने धारणा राखेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री कार्कीलाई उद्देश गर्दै, “हालकी प्रधानमन्त्रीज्यू सर्वोच्चमा हुँदा संसद् विघटनसम्बन्धी मुद्दा हेर्नुभएको थियो,” भन्ने आशयका कुरा गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री कार्कीले तत्क्षण प्रतिवाद गर्दै भनिन्, “यस्तो नचाहिँदो कुरा नगर्नुहोस् तपाईं । मैले संसद् विघटनको मुद्दा हेरेकी होइन ।” उनले बर्तौलालाई नभएको कुरा प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गरिन् ।
प्रधानमन्त्रीको प्रतिवादपछि बर्तौलाले जवाफ फर्काउँदै भने, “मुद्दा नहेरे पनि संसद् पुनःस्थापना हुनुपर्छ भन्ने कुरा तपाईंले सार्वजनिक रूपमा भनेको त हो नि ।”
लगत्तै प्रधानमन्त्री कार्कीले भनिन्, “मैले त्यसरी भनेकी होइन । दुई–चार जना फतुरे पत्रकारले के–के लेखे, मलाई थाहा छैन ।”