कांग्रेस युवा र्यालीमा प्रहरी हस्तक्षेप: त्रिपुरेश्वरमै रोक, झण्डा समेत खोसियो
काठमाडौं, असोज २७ – नेपाली कांग्रेससँग सम्बद्ध युवाहरूले मंगलबार दिउँसो निकालेको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। त्रिपुरेश्वर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जान लागेको र्यालीलाई प्रहरीले त्रिपुरेश्वरमै रोकेर झण्डा समेत खोसेको हो।
र्याली रोकिएको पुष्टि गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले भने, “कांग्रेसको पार्टी कार्यालयमा कार्यक्रम छ भन्ने जानकारी पछि प्राप्त भयो। बीच बाटोमै र्याली देखिएपछि होल्ड गरेका हौँ। यकिन भएपछि उहाँहरू आ–आफ्नो गन्तव्य जान पाउनुहुन्छ।”
यो र्याली कांग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा गरिएको थियो। तरुण दलका युवाहरूले काठमाडौँका विभिन्न स्थानबाट सानो संख्यामा मोटरसाइकल र्याली निकालेर सानेपातर्फ जान खोजेका थिए।
आजको बैठक विशेष रुपमा महत्वपूर्ण मानिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि पार्टी सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक रुपमा देखिँदै छन्। सो आन्दोलनका क्रममा देउवा निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो। आगजनी र कुटपिटमा देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएका थिए।
घटनापछि देउवा स्वास्थ्य लाभ गर्दै आएका थिए। आजको बैठकमा उनले उद्घाटन मन्तव्य दिने र त्यसपछि बाहिरिने कार्यक्रम रहेको बताइएको छ।
आजको केन्द्रीय समिति बैठकले पार्टीको आगामी महाधिवेशन नियमित रूपमा मंसिरमै गर्ने वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने भन्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा छन्, भने सभापति देउवा र उनको समूह नियमित महाधिवेशनको पक्षमा अडिग छन्।
तर, अझैसम्म स्पष्ट धारणा बन्न सकेको छैन। यता, जेनजी आन्दोलनपछि पार्टीभित्र देउवाको विकल्प खोज्ने प्रयास तीव्र बनेको छ।