देउवा सक्रिय राजनीतिबाट बिदा, कार्यबाहक सभापतिमा खड्का
काठमाडौं, असोज २८ – जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको चर्किएको मागका बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार सक्रिय पदबाट बिदा लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यबाहक सभापति तोकेका छन्।
देउवाले केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई कार्यकारी जिम्मेवारी हस्तान्तरण गरेसँगै अब आफू कांग्रेसको ‘अभिभावकीय भूमिका’ मा सीमित हुने स्पष्ट पारेका छन्।
विधानअनुसार देउवा अब तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न अयोग्य भइसकेका छन्। यद्यपि, पार्टीभित्र चर्किएको आन्तरिक दबाबपछि उनले नेतृत्व हस्तान्तरणको संकेत दिँदै कार्यबाहक तोक्न तयार भएका हुन्।
देउवाले बैठकमा भने, “घरमा सधैं एकै जना मूली रहँदैन,” भन्ने भनाइमार्फत नेतृत्व परिवर्तनको संकेत दिए। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवा अब १५ औं महाधिवेशनसम्म कांग्रेसको अभिभावकको भूमिकामा रहनेछन्।
देउवाले सक्रिय जिम्मेवारी खड्कालाई हस्तान्तरण गरेपछि पार्टीभित्रको अन्योल केही हदसम्म हटेको देखिन्छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्व परिवर्तनका लागि लगातार दबाब दिँदै आएका थिए।
पार्टीभित्र विशेष महाधिवेशनको माग पनि तीव्र बनेको थियो। हालसम्म ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेकाले पार्टी विधानअनुसार विशेष महाधिवेशनको बाटो खुलेको छ। तर मंगलबारको बैठकअघि सभापतिले सम्मानजनक बिदा लिने निर्णय गरेपछि हस्ताक्षर पेश गर्ने प्रक्रिया रोकिने सहमति भएको थियो।
नेताहरूको बुझाइमा देउवाले विधानअनुसार मंसिरभित्रै नियमित महाधिवेशनको बाटो खुला गरिदिएका छन्। संविधानमा ‘प्रतिकूल अवस्था’ नभए एक वर्ष कार्यकाल थप्न सकिँदैन, जसका कारण देउवाले विधान उल्लेख गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने सन्देश दिएका छन्।
बीपी कोइरालाले २०३१ सालमा कार्यबाहकका रूपमा कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिएका थिए भने २०६३ मा गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यबाहक तोकेका थिए। अब देउवाले पनि त्यही परम्परा दोहोर्याउँदै आफू अभिभावक र खड्कालाई कार्यकारी बनाउने मार्ग रोजेका छन्।
अब कांग्रेसले मंसिरभित्र महाधिवेशनको तयारी गर्ने संकेत देखिएको छ। नेतृत्व हस्तान्तरणपछि कांग्रेसमा पुनर्गठनको ढोका खुलेको छ।