एक घण्टा ढिलो गरी सुरु भयो कांग्रेस केन्द्रीय समिति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसोदेखि सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बजेबाट सुरु भएको हो। गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक कात्तिक १ गतेबाट बिहीबारसम्मका लागि स्थगित गरिएको थियो।
जारी बैठकले कांग्रेसको १५औँ महाधिवेशन, सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, प्रतिनिधिसभा विघटन र ‘जेनजी आन्दोलन’ बारे संस्थागत निर्णय गर्ने नेताहरू बताउँछन्।
बैठक केहीबेरअघि सुरु भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।
कांग्रेसभित्र नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद छ। नियमित महाधिवेशनको मितिलाई लिएर पनि मतभेद छ। संस्थापन पक्षले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको छ भने इतर समूहले मंसिरमै गर्नुपर्ने धारणा राखेको छ।