कर्णाली प्रदेश सरकारको हालसम्म ११ अर्ब ७ करोड रूपैयाँ मात्र खर्च
काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएकोमा ११ अर्ब ७ करोड अर्थात ३३ प्रतिशत रकम खर्च गरेको छ ।
आर्थिक वर्ष सकिन १ महिना केही दिन मात्रै बाँकी रहँदा कर्णाली सरकारले खर्च गर्नुपर्ने बजेट २२ अर्ब ३४ करोड रुपैयाँ रहेको हो । जसमध्ये पूँजीगततर्फ २५ दशमलव ६६ प्रतिशत र चालुतर्फ ४३ दशमलव ७८ प्रतिशत रकम खर्च भएको छ ।
गत वैशाख महिनामा मात्रै १ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको हो । सरकारले जेठ महिनाको १६ दिनमा मात्र करिब ८३ करोड खर्च गरेको छ ।
प्रदेश सरकारको खातामा अहिले करिब २२ अर्ब रुपैयाँ मौज्दात रहेको हो। त्यसमध्येको १४ अर्ब विकास बजेट खर्च हुन सकेको छैन । सबै भन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अझै ९ अर्ब ७ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३ अर्ब २६ करोड रुपैयाँ खर्च गर्न बाँकी रहेको हो ।
अन्य मन्त्रालयमा बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ ।