रूकुम पश्चिममा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ नेपानेमा आइतबार राति बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी ३ जना घाइते भएको प्रहरीले बताएको हो । गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिकाको-४ छिनखेत जाँदै गरेको वलर्ड लिङ्क कम्युनिकेसनको डबल क्याप बोलेरो आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो । घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई लगत्तै जिल्ला अस्पतालका डाक्टरले मृत घोषित गरेको प्रहरीले बताएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल बिक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय टिकाराम खनाल घाइते भएका हुन् । उनीहरू मध्य सुजल र टिकारामको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले बताएको हो ।
नेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए । बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका हन् । गाडी सडकबाट करिब २ सय मिटर भन्दा तल खसेको प्रहरीले बताएको छ ।