लुम्बिनी गुरूयोजनाको बाँकी कामको द्रुत विकास गर्नका लागि क्रियाशिल छु: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकास गर्नका लागि आफूले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताउनुभएको छ ।
२५६८ औं बुद्ध जन्मजयन्ती एवं लुम्बिनी दिवसको अवसरमा बिहीबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल भइरहेको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय दातृ राष्ट्र र संघसंस्थाहरुको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र देवदह क्षेत्र तथा रामग्रामको पुरातत्विक उत्खनन, संरक्षण, प्रवद्र्धन तथा विकास गरी सथानीयवासीलाई विकासको नयाँ प्रतिफल दिलाउन पनि प्रयास गरिरहेको बताउनुभएको छ ।
नेपाल सरकारले २०६८ सालमा गठन गरेको वृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा प्रतिनिधि मण्डलको नेतृत्व गरेर न्युयोर्क पुगेर तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुनसँग वृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि गम्भीर छलफल गरेको पनि उहाँले स्मरण गर्नुभएको हो । बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको उहाँले बताउनुभयो ।
लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने, त्यसमार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धननमा उच्च सफलता हाशिल गर्ने सम्भावना रहेको उहाँको भनाइ छ । शाक्यमुनि गौतमबुद्ध शील, समाधि, प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतिक भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभइ धार्मिक पर्यटनको माध्यमबाट असिमित सम्भावना उपलब्ध गराएको बताउनुभएको छ । लुम्बिनीको सम्भाव्यताका लागि अलग्गै अध्ययन गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।