उदयपुरको सिवाई-बेल्हा जोड्ने भाँचिएको पुल बनाउन माग
उदयपुरका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा जोड्ने भाँचिएको पुलको निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेका छन् ।
पुल नबन्दा सर्पदंश लगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको भन्दै तत्काल भाँचिएको पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, प्रदेश सभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार भौतिक मन्त्रालयमा भेटेर मन्त्रीसँग माग गरेको हो ।
उक्त टोलीले स्थानीय जनप्रतिनिध, कांग्रेस, एमाले, माओवादी, समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाअध्यक्षसहित स्थानीय सरोकारवालाहरू हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्री ज्वालाले उक्त ज्ञापनपत्र बुझ्दै चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ मा सिवाई- बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आवश्वासन दिए ।
उनले भने, ‘ चौदण्डीगढी-५का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भक्तिएको पुलको पुन: निर्माणको काम एक वर्षभित्रै हुन्छ। यसमा चिन्ता नलिन म आग्रह गर्दछु। काम नयाँ शिराबाट सुरू हुन्छ।’
साथै उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्ने र पुलको भेरिएशन मन्त्रिपरिषदबाट पास गराएर कामलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता मन्त्री ज्वालाले बताए ।
यस्तै सडक विभाग विभागको निर्देशक सुशिलबा बाबु ढकालले उक्त पुलको टेक्निकल समस्याको सबै पत्ता लगाइ सकिएको बताए । उनले भने, ‘ हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौं। त्यसको बिम्ब र स्ल्याबसहितको निरीक्षण गरे रिपोर्ट आइसकेको छ।अब खाली प्रक्रिया र मन्त्रिपरिषदबाट भेरिएशन पास गराएपछि काम सुरू भइहाल्छ।’