ओखलढुंगाको पहिरो पीडितलाई तत्काल बसोबासको व्यवस्था गर्न सांसद खतिवडाको माग
ओखलढुंगाका सांसद रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८का पहिरो पीडितलाई तत्काल राहत र बसोबासको व्यवस्थापन गर्न सरकारसंँग माग गरेका छन् ।
गएराति चम्पादेवी ८ गुरुङ बस्तीमा थामखर्क डाडाँबाट झरेको पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु हुनाको साथै दुई दर्जन बढी घरमा क्षति पुगेको छ । अविरल वर्षाको कारण गएको पहिरोले बस्तीमा पशुचौपायादेखि धनजनको ठूलो क्षति गराएको भन्दै सांसद खतिवडाले तत्काल पीडितको राहत र बसोबासको व्यवस्था मिलाउन तथा जोखिममा रहेको बस्ती स्थानान्तरणको लागि सरकारलाई पहल गर्न अनुरोध गरे ।
उनले भने, ‘गएराति थामखर्कबाट गएको पहिरोमा रणबहादुर गुरुङ,शिवमाया गुरुङ,उनीहरुका छोरा दिनेश गुरुङ र पन्ध्र महिने छोरी कृतिका गुरुङको मृत्यु भएको छ । पहिरोमा धेरै गाईवस्तु हराएका छन्,सयौं विगा खोतीयोग्य जमिन बगाएको छ ।सरकारले दु्रततर रुपमा विस्थापित हुन लागेको त्यो गाउँलाई बसोबासको व्यवस्था मिलाउन सरकारलाई पहल गर्न म अनुरोध गर्छु।’
बिहीवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले समयमै विकास निर्माणको काम नगर्ने र समय घर्किन लागेपछि इन्जिनियरिङ बिनाको डोजरे विकास गरेर बाटो खन्ने प्रवृतिले गर्दा यस्ता खाले पहिरोको घटना देशभर बढेको भन्दै यस बारे सचेत हुन सरकारलाई आग्रह समेत गरे ।