आज शहीद दिवस
सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।
सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुनजुन देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् |
नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो। वि.स. २००७ देखि २०६२-०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे। १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमालाई १९९७ माघ १२ गते हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गङ्गालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।