५७ अर्ब बजेट, मनलाग्दी खर्च गर्न पाइने अर्थमन्त्रीको तजबिजीमा
यसपटकको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो तजबिजीमा खर्च गर्न सक्ने गरी ५७ अर्ब रूपैयाँ बजेट छुट्याएका छन्।बजेटमा अर्थमन्त्रालय अन्तर्गत विविध शीर्षकमा करिब १ खर्ब १२ अर्ब रूपैयाँ छुट्याइएको छ। यसमा विशिष्ट व्यक्तिको भ्रमणदेखि अतिथि सत्कार, प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च, विपद राहतदेखि कम्प्युटर लगातको खरिद सबै खर्चहरू तोकिएका छन्।त्यसबाहेक विविधमै भैपरी आउने चालु र पुँजीगत खर्च अन्तर्गत ५७ अर्ब रूपैयाँ छुट्याइएको छ।
२०७५-७६ मा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले १५ अर्ब रकम यसरी छुट्याएका थिए। २०७६-७७ मा पनि खतिवडाले नै बजेट ल्याएका थिए। सो समय भने उनले ९ अर्ब ६१ करोड रूपैयाँ यसरी शीर्षक बिना छुट्याएका थिए। आव ०७७-७८ मा ल्याएको बजेटमा पनि यसरी ९ अर्ब ५० करोड भैपरी शीर्षकमा रकम छुट्याइएको थियो।