भारतले नयाँ मूल्य पठायो, पेट्रोलमा लिटरकै ३२ रूपैयाँ घाटा
भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको मूल्य बढाएर पठाएको छ। बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
उनका अनुसार आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको छ। त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेर आएको छ।
यो बढेर आएको मूल्यले आयल निगमको घाटा झनै बढेर जानेछ। यसअघि निगमलाई पेट्रोल लिटरमा १६ रूपैयाँ हाराहारी घाटा थियो। अब यो घाटा ३२ रूपैयाँ नाघेको छ। डिजेलमा पनि ३६ रूपैयाँ बढी घाटा हुनेछ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा एक करोड ५० लाख, हवाई इन्धन आन्तरिकतर्फ एक करोड १३ लाख र बाह्यतर्फ साढे १७ करोड रूपैयाँ नाफा रहेको निगमले जनाएको छ।
सबै प्रकारका इन्धनबाट नाफा र घाटाको समायोजन गर्दा बुधबारको मूल्यअनुसार निगमलाई अब १५ दिनमा ५ अर्ब ३१ करोड रूपैयाँ घाटा छ। यो भनेको महिनामा साढे दस अर्ब बढी हो।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ। आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोेलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो। कच्चा तेलको अहिलेको दरमा हिसाब गर्दा प्रशोधित तेलको मूल्य १० देखि १५ प्रतिशत बढ्ने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए।