प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै
प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ। प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरूद्ध अविश्वसको प्रस्ताव पेश हुनेछ।
प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीमा नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेश हुने उल्लेख छ ।
यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका छन्। तर सभामुख भण्डारीले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका छन्।
हिउँदे अधिवेशन सुरु भएर दुईपटक बसेर सत्ता पक्षकै अवरोधका कारण छोटो समयमा नै सकिएको बैठक आज तेस्रो पटक बोलाइएको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि सोही विवादले सदन अवरुद्ध सुरु भएको हो।
यसअघि पनि बोलाइएको बैठकमा अविश्वासको प्रस्ताव सदनमा पेश गर्ने बताइएको भए पनि सत्तापक्षले अवरोध गर्दा प्रस्ताव समेत पेश हुन पाएको छैन। सदनमा मुख्यमन्त्रीले निलम्बन गरेका सांसद उपस्थित हुन नहुने सत्तापक्षको मागका कारण बैठक स्थगित हुँदै आएको छ।
आजको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश गर्न नदिने रणनीति नेकपा ओली समूहको रहेको छ। निलम्बन गरेका १६ सांसदलाई पनि उपस्थित गराएर अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेश सभा नै भङ्ग समेत हुन सक्ने चेतावनी मुख्यमन्त्रीले दिइसकेका छन्।
औपचारिक रूपमा पार्टी विभाजन भएपछि अर्थात मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएपछि मात्रै प्रदेशसभा बैठक सञ्चालन हुने दिने आफूहरुको रणनीति रहेको नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए।