पार्टी विभाजन हुनुमा ओली र दाहाल बराबर जिम्मेवार : वामदेव गौतम
(काठमाडौँ) नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको पनि उनले बताए ।
‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुऱ्याउँदै छु मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो,’ उपाध्यक्ष गौतमले भने ।
‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ । प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवार हुनुहुन्छ,’ गौतमले भने ।
बुधबार गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् ।
एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुन: एकीकरणको योजना दुई चरणमा गरिने पनि बताएका छन् । पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रमण सर्वोच्चको फैसला आएपछि सुरु हुने गौतमले सार्वजनिक गरेको पार्टी एकीकरणसम्बन्धीको अवधारणापत्रमा उल्लेख छ । दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुने पनि बताइएको छ ।