म्यानचेस्टर र पिएसजी पराजित
युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
बुधबार राति भएको समूह 'एच' को खेलमा युनाइटेडलाई टर्किस क्लब इस्तानबुल बशाक्षेहिरले २-१ गोलले पराजित गरेको हो। इस्तानबुलका लागि डेम्बा बाले खेलको १२ मिनेटमा पहिलो गोल गरेका थिए। ४० मिनेटमा भिस्काले इस्तानबुलको अग्रता दोब्बर पारे।
४३ मिनेटमा युनाइटेडका लागि मार्सियलले गोल फर्काए। पहिलो हाफ इस्तानबुलले २-१ गोलको अग्रता लिएको खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन। यो समूहको अर्को खेलमा फ्रेञ्च च्याम्पियन पिएसजी पनि पराजित भएको छ। पिएसजीलाई जर्मन क्लब आरबी लाइपजिगले २-१ गोलले पराजित गरेको हो।
खेलको छैटौ मिनेटमा डी मारियाले गोल गरेर पिएसजीलाई अग्रता दिलाएका थिए। तर लाइपिजका लागि एनकुन्कुले ४१ मिनेट र फोर्सबर्गले ५७ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। खेलको ६९ मिनेटमा इद्रीसा गुयेले दोस्रो पहेँला कार्ड पाउँदा पिएसजी १० खेलाडीमा सीमित भयो। दोस्रो हाफको इन्जुरी टाइममा किमपेम्बेले पनि दोस्रो पहेँलो कार्ड पाएका थिए। जसका कारण पिएसजी खेल सकिदा ९ खेलाडीमा सीमित बनेको थियो।
समूहमा हारपछि पनि युनाइटेड ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाइपजिगको पनि ६ अंक भएको छ। पिएसजी र इस्तानबुलको ३-३ अंक छ।