उदयपुर सिमेन्टको हाइटेन्सन मोटर खरिदमा अनियमितताको आशंका
काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रुपमा रहेको उदयपुर सिमेन्ट यतिबेला बन्द अवस्थामा छ । यसको कारण हो उद्योगको मेसिन बिग्रनु । उद्योग अन्तर्गत हाइटेन्सन मोटर बिग्रिएपछि उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।
मेसिन बिग्रेर उत्पादन नै बन्द हुने अवस्था भएपछि व्यवस्थापनले उक्त मोटर खरिद प्रक्रिया अगाडि बढाएको छ । अहिले बोलपत्र पेश गर्ने समय सकिएर बोलपत्र मूल्यांकनको चरणमा रहेको छ । सो बोलपत्र प्रक्रियामा ३ वटा कम्पनी सहभागी रहेको र त्यसको मूल्यांकन भइरहेको कम्पनीको निमित्त प्रबन्ध निर्देशक नबलकिशोर साहले जानकारी दिए ।
तर, यो खरिद प्रक्रिया विवादरहित भने भएन । सार्वजनिक खरिद ऐन र नियमावली विपरित बोलपत्रमा हाइटेन्सन मोटरका लागि कुनै ब्राण्डको नाम तोकेर महँगो लागत पर्ने अवस्था भएको आरोप लगाइएको छ ।
पहिलोपटक बोलपत्रमा आह्वान गर्दा फुजी कम्पनीको मात्रै मोटर हुनुपर्नेगरी आह्वान गरिएको थियो । यसरी एउटा कम्पनी वा ब्राण्डलाई तोकेर खरिद प्रक्रिया अघि बढाउन पाइँदैन । सार्वजनिक खरिद ऐनले खरिद प्रक्रियामा कुनै खास ब्राण्ड, टे«डमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न नपाइने उल्लेख गरिएको छ । यदि सम्बन्धित सामानलाई बुझाउनेगरी उल्लेख गर्न नसक्ने अवस्थामा मात्रै त्यस्तो ब्राण्डको नाम लेख्न पाइन्छ । तर, त्यसरी नाम उल्लेख गर्दा सो सरहको अरु सामानले समेत प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । तर, यो बोलपत्रमा त्यसो नगरिएको स्रोतको दाबी छ । यो व्यवस्थाका कारण बजारमा ६०÷७० लाखमा पाइने मोटरलाई १ करोड ८० लाखसम्म तिर्नुपर्ने अवस्था भएको स्रोतले बताएको छ ।
सार्वजनिक खरिदमा यसरी बोलपत्र आह्वानपूर्वनै उत्पादक वा आपूर्तिकर्ता तय गर्ने प्रवृत्तिलाई भेन्डर लकिङ भनिन्छ । यो ठेक्कामा भेन्डर लकिङ गरेर १ करोड रुपैयाँ भन्दा बढी अनियमितता भएको आशंका स्रोतले गरेको छ ।
अहिले बजारमा यस्ता मोटर दर्जन भन्दा बढी कम्पनीले उत्पादन गर्छन् । सबै कम्पनीले उत्पादन गर्ने यी सामानहरु गुणस्तरीय र प्रतिस्पर्धात्मक पनि छन् । नेपालमा ७५ वटा भन्दा बढी सिमेन्ट उद्योग, आइरन उद्योग, चिनी उद्योग लगायतमा यस्ता मोटरको प्रयोग हुने गरेको छ ।
निमित्त प्रबन्ध निर्देशक साहले भने बोलपत्रमा ब्राण्ड उल्लेख गरे पनि सोसरहको अरु कम्पनीका मोटरको आपूर्तिका लागि प्रस्ताव गर्ने प्रावधान समेत भएको दाबी गरेका छन् । उनले अहिले बोलपत्रको मूल्यांकनको चरणमा रहेकोले लागतबारे अहिले नै केही भन्नसक्ने अवस्था नभएको समेत दाबी गरे ।
त्यसो त, यो मोटरलाई समेत नियोजित रुपमा बिगारिएको दाबी स्रोतले गरेको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । आयोगले अघिल्लो हप्तादेखि यसबारे अनुसन्धान समेत थालेको छ ।