भारतमा ट्यांकरको नक्कली साँचो बनाएर पेट्रोलमा श्रृंखलाबद्ध मिसावट
(काठमाडौं) भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ना ४ ख ३०८५ नम्बरको ट्यांकर गत सोमबार नेपाल आयल निगमको थानकोट डीपोमा आइपुग्यो । डिपोका प्राविधिकले पेट्रोलको गुणस्तर परीक्षण गर्दा उक्त ट्यांकरको एक चेम्बरमा ६०० लिटरभन्दा बढी तारपिन मिसावट भएको भेटियो ।
चालकले ट्यांकरबाट ६०० लिटर पेट्रोल झिकेर ६०० लिटर तारपिन तेल हालेका थिए । चालक सचिन सुवेदीले हालको बजार मूल्यअनुसार ६४ हजार २०० रुपैयाँको पेट्रोल झिकेको डिपोका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार, अलि पहिल्यै पेट्रोल भरिए पनि उक्त ट्यांकर ढिला गरी काठमाडौं आएको थियो ।
मिसावट फेला परेलगत्तै डिपोप्रमुख प्रदीपकुमार यादवले चालक सुवेदीलाई महानगरीय प्रहरी वृत्त चेक पोष्टको जिम्मा लगाए । ‘मिसावटमा शून्य सहनशीलता भन्ने माथिको आदेश छ, हिजोआज पहिले प्रहरीको जिम्मा लगाएर मात्रै कागजी प्रक्रिया सुरु हुन्छ,’ डिपो प्रमुख यादव भन्छन् ।