धरानमा नाैजनामा कोरोना संक्रमण
धरान उपमहानगरपालिकामा आइतबार नाैजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत १५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन भएकामध्ये एकैपटक नाैजनामा संक्रमण पुष्टि भएको हो । केही दिनअघि धरान– १३ बस्ने एकजनामा कोरोना संक्रमण भएको थियो । उनी काम गर्ने धरान– ८ तिनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत दुईजना कर्मचारी तथा तिनका परिवार र एन्फा क्वारेन्टाइन बसेका चारजना रहेका छन् ।
एकजनाको स्थायी घर विराटनगर र अर्काको स्थायी घर जनकपुर भएको बताइएको छ । विराटनगर घर हुने कर्मचारी धरान– १ मा बस्छन् । जनकपुर घर हुने परिवारसहित धरान ८ मा बस्दै आएका थिए । जनकपुर घर भएका कर्मचारीका श्रीमती, नाै वर्षीया छोरी र पाँच वर्षीय छोरालाई संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत रामबाबु यादवले जानकारी दिए ।
पाँचजना धरान– १३ का युवामा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिलाई गत १५ गते स्वाब संकलन गरिएको थियो यता अन्य चारजना भने भारतको मणिपुरबाट गत साउन १४ गते आएर धरान १७ एन्फा क्वारेन्टाइनमा बसेका थिए । धरान घर भएका उनीहरूको पनि साउन १५ गते स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि लगिएको थियो । ५० जनाको परीक्षण गर्दा नाैजनामा पाेजेटिभ देखिएको छ । धरानमा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ ।
नाैजनामा संक्रमणको पुष्टि भएपछि उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन वार्डमा भर्ना गरिएको अधिकृत यादवले जानकारी दिए ।