अब १२ अस्पतालबाट कोरोना संक्रमितको 'प्लाज्मा थेरापी' बाट उपचार
सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्न अनुमति दिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप कुमार ज्ञवालीले तीन वटा निजीसहित १२ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको बताएका छन्। अनुमति पाउने निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी र ह्याम्स अस्पताल छन्।
यस्तै, सरकारी अस्पतालहरूमा धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल छन्।
अब यी अस्पतालहरूले कोरोना संक्रमणको गम्भीर बिरामीलाई प्लाज्मा दिएर उपचार गर्न सक्छन्। तर त्यसको लागि दाता र संक्रमित बिरामी दुबैको स्वीकृति हुनुपर्ने डा. ज्ञवालीले बताए। उनले हालसम्म २५ जना व्यक्तिहरूले प्लाज्मा दान गर्न इच्छाएको जनाए। यसरी प्लाज्मा दान गर्ने व्यक्तिको लागि परिषद्ले एउटा मापदण्ड तोकेको छ।
पहिलो कुरा भनेको प्लाज्मा दान गर्ने व्यक्तिले रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिनु हुँदैन। साथै दाताको संक्रमण पुष्टि आरटी पिसिआर विधिबाटै भएको हुनुपर्छ।
यस्तै दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ।
परिषद्ले प्लाज्मा लिने बिरामीको लागि पनि मापदण्ड तोकेको छ।
पहिलो कुरा प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्छ।
साथै संक्रमित अस्पताल भर्ना भई उपचार भएको र निजको अवस्था पनि गम्भीर हुनुपर्छ।
'बिरामीको अवस्था गम्भीर भएको हुनुपर्छ वा चिकित्सकले बिरामीको अवस्था गम्भीर हुनसक्ने भनेर पुष्टि गर्नुपर्छ,' डा. ज्ञवालीले भने।
अर्को कुरा संक्रमित बिरामीले आफूलाई उक्त विधिबाट उपचार गर्न भनेमात्र अस्पतालहरूले निजको उपचारमा यो विधि प्रयोग गर्न पाउँछन्।
यो विधिबाट अस्पतालहरूले संक्रमितको अस्पताल बसाइको अवधि, स्वास्थ्य पर्ने प्रतिकूल असर वा सुधार हुने कुरालाई अध्ययन पनि गर्नुपर्ने हुन्छ। यसमा सुरूआतदेखि नै परिषद्ले पनि अनुसन्धान र अध्ययन गरिरहेको डा. ज्ञवालीले बताए। सरकारबाट अनुमति पाएका अस्पतालहरूले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न तयारी थालेका छन्।
त्यसमध्ये स्वीकृति पाएको टेकु अस्पतालले पनि उक्त विधिबाट उपचार गर्न तयार रहेको जनाएको छ।