कोरोना देखिएपछि गोरखामा वडा कार्यालय सिल
गोरखाको लक्ष्मीबजारमा व्यवसाय सञ्चालन गर्दै आएकी एक जना २४ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गोरखा नगरपालिका वडा नम्बर ९ ले आफ्नो वडाभित्र ‘सिल’ गरेको छ।
वडाध्यक्ष कुलबहादुर कुँवरका अनुसार वडाले दिने सेवा प्रवाहसमेत बन्द गरिएको छ।
‘कोरोना पोजेटिभ पुष्टि भएकी महिलासँग सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङको काम गर्नु पर्ने भएको हुँदा यस वडाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण सेवा अर्को सूचना जारी नहुञ्जेलसम्म बन्द गरिएको छ,’ वडाध्यक्ष कुँवरले मंगलबार निकालेको सूचनामा भनिएको छ।
साथै वडाभित्र अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न कार्यालयले आग्रह गरेको छ।
ती संक्रमित महिला गत बिहीबार काठमाडौंबाट गोरखा फर्केको खुलेको छ। उनलाई गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ। योसहित गोरखामा संक्रमित संख्या एक सय ७ पुगेको छ।
‘अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न र यस वडाभित्र रहेका सम्पूर्ण बैंक, वित्तिय संस्था र व्यवसायीहरूलाई आ-आफ्नो व्यवसाय बन्द गरी अत्यन्त संयम भई सतर्कता अपनाउनु हुन र नआत्तिनु हुन समेत वडावासीमा अनुरोध छ,’ उनले भनेका छन्।