कोरोना भाइरसका कारण विश्वभर ३ हजार ५३ जनाको मृत्यु
(काठमाडौँ) सन् २०१९ डिसेम्बरको अन्त्यमा चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ३ हजार भन्दा बढीको ज्यान गइसकेको छ । संक्रमण सुरु भएको चीनमा दुई हजार ९ सय १२ जना र चीनबाहिर एक सय ४१ जनाको मृत्युभएको छ । विश्वका ७० देशमा फैलिसकेको कोरोनाको संक्रमण चीनमा घटिरहेको छ भने चीनबाहिरका देशमा प्रकोपको रुप लिन थालेको छ ।
उक्त भाइरस गत डिसेम्बर महिनामा चीनको हुवेइ प्रान्तबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । सङ्क्रमण सुरु भएको चीनमा दुई हजार ९ सय १२ जना र चीनबाहिर एक सय ४१ जनाको ज्यान गएको हो । चीनमा सोमबार मात्र हुवेइ प्रान्तका थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघेको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवइे प्रान्तका हुन् । जहाँ २ सय २ जना नयाँ संक्रमित फेला परेका छन् भने ८० हजार बढी संक्रमित छन् । चीन लगायत विश्वका ७० देशमा कोरोनाको संक्रमण फैलिएको छ । अहिलेसम्म विश्वभर ९० हजार बढी कोरोना संक्रमित छन् । संक्रमण देखिएका बिरामीमध्ये दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु भएको छ ।
कोरोनाका कारण चीनपछि इरानमा सबैभन्दा बढी नागरिकको मृत्यु भएको छ । इरानमा सरकारी तथ्याङ्क थोरै भए पनि कोरोनाभाइरसका कारण कम्तीमा २ सय १० जनाले ज्यान गुमाएको बताइएको छ । इटालीमा पछिल्लो ४८ घण्टामा यो संक्रमणका बिरामी दोब्बरले बढेका छन् । बेलायतमा अहिलेसम्म ३६ जनामा यो सक्रमण देखिएको छ । दक्षिण कोरियामा ४ हजार बढीलाई यो संक्रमण देखिएको छ भने ४ सय ७६ जना नयाँ बिरामी फेला परेका छन् ।
७० देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वव्यापी रुपमा ९० हजार नाघेको छ । चीनमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । कोरोनाबाट सङ्क्रमितमध्ये उपचारपछि निको हुने क्रम पनि बढिरहेको छ ।
अहिलेसम्म सङ्क्रमित भएकामध्ये ४५ हजार एक सय ४४ जना उपचारपछि घर फर्किएका छन् । तर शून्य दशमलव १ प्रतिशत मृत्युदर रहेको मौसमी फ्लुको कारण बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेकोले कोरोनाको मृत्युदरको अवस्था भयावह भएकोे विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।