मन्त्री भुसालको क्षेत्र विकास कार्यक्रमको ५० लाख प्रेस क्लबलाई
(बुटवल) कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले आफ्नो संसदीय विकास क्षेत्र कार्यक्रम अन्तर्गतको ५० लाख बजेट भैरहवाको लुम्बिनी प्रेस क्लबलाई दिएका छन् ।
उनको क्षेत्रको सो बजेटबाट क्लबले रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनी रोडमा चार तले भवन बनाउन थालेको छ । १० धुर जग्गामा निर्माण हुन लागेको ४ तले भवनको मंगलबार मन्त्री भुसालले शिलान्यास गरे । मन्त्री भुसाल रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
लुम्बिनी प्रेस क्लब मन्त्री भुसालको निर्वाचन क्षेत्र रहेको भैरहवा क्षेत्रका पत्रकारहरु आवद्ध संस्था हो । सो अवसरमा मन्त्री भुसालले कृषि कर्ममा लाग्ने नागरिकको लगानी र मिहिनेत खेर जाने अवस्था आउन नदिन सरकार लागेको बताए ।
‘अहिलेसम्म गर्न नसकिएका कृषिका क्षेत्रमा करिब–करिब खुट्टा टेक्ने स्थानमा पुगेको छु’–उनले भने–‘ कृषिमा लाग्ने व्यक्ति मर्दैन, उसका सन्तानहरुको जीविकोपार्जन गर्न समस्या हुँदैन भन्ने गरी काम अगाडि बढाएका छौं ।’ मन्त्री भुसालले विकासका काममा राजनीति गर्न नहुने र आफुले पनि नगर्ने बताए ।