मान्छेको लस्करमाथि हिमपहिरो खस्यो
(पोखरा) जोडले हावा चल्यो । हावा यति बलशाली थियो कि जगदीशको जिउ नै हल्लायो । एकैछिनमै ठूलो आवाज कानमा ठोक्कियो । केकसो हो भन्ने चाल नपाउँदै टेकेको जमिन बग्यो । सासै फेर्न गाह्रो भयो ।
जगदीशले बल्ल अनुमान लगाए, हिउँ पहिरोमा परिएछ । तर चलमलाउन सक्ने अवस्था थिएन । टेकेको जमिनसँगै बगेका थिए जगदीश । केही समय बगेपछि एकैछिन रोकियो । माथिबाट फेरि हिउँको पहाड खसेछ । त्यसले धकेलेर फेरि बग्न थाले । केही तल पुगेर फेरि बग्न रोकिन्छ, फेरि बग्छ । यसरी पटकपटक रोकिँदै बग्दै गरेर पहिरोसँगै जगदीश झ्याम्म खोलामा पुगे ।
‘पहिरो रोकिएर चलमलाउन नपाउँदै फेरि बग्न सुरु गर्यो । फेरि रोकिन्छ, फेरि बग्छ यसरी नै बगिरहें । पहिरोसँगै खोलामा पुगें,’ शुक्रबार अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परेर ज्यान बचाएका जगदीश खत्रीले कहालीलाग्दो घटना सुनाए ।
हिउँ पहिरोमा परेका उनी मोदी खोलामा खसेका थिए । त्यहाँ पनि जगदीशलाई लाग्यो, ‘खोलामा पानी होइन, हिउँ नै बगिरहेको छ । खोलामा त्यति चिसो पानी थियो । १० मिनेट जति खोलामा बगेपछि पौडिएर छेउ लाग्न सफल भए । जगदीश अड्कल गर्छन्, ‘१० मिनेर बगें, त्यति नै समय खोलाबाट किनारा लाग्न लाग्यो होला ।’ बल्लतल्ल खोला किनार त लागे तर उभिन सक्ने अवस्था थिएन । थपक्क बसेकामात्र के बसेका थिए, फेरि बसेको ठाउँ नै भासिएर खोलामा पुग्यो ।
‘जानेजत्तिको बुद्धि लगाएर बाहिर निस्कें,’ जगदीशले बाँच्न गरेको संघर्ष सुनाए । उनका अनुसार हिउँ नै हिउँ छ थियो । समाउने र टेक्ने ठाउँ छैन । भित्तामा मुड्कीले हान्दै खाल्टा परेर त्यसैमा टेक्दै बाहिर निस्कन सफल भएको उनले बताए ।
‘बाँचिन्छ भन्ने सोचेकै थिइन,’ पोखरा फर्केर शनिबार साँझ फेवासिटी अस्पतालमा स्वास्थ जाँच गराइरहेका जगदीशले खुइ काडे, ‘ठूलो भाग्यले बाँचियो ।’ जगदीश हिम्मतले बाँचे । पौडी खेल्ने कलाले पनि बाँचेएको भन्दै उनी भन्छन्, ‘आफूले टेकेको जमिनको माथिमाथि नबगेको भए, त्यही सकिन्थें होला ।
खोलाबाट निस्किएर पनि बाटोसम्म पुग्न आफूलाई झण्डै २ घण्टा लागेको उनले बताए । बाटो नजिकै पुगेपछि उनले मान्छेहरुलाई देखे । जगदीशमा अरु हिम्मत पलायो । केही मिटर तल पुगेर चिच्याए, ‘हेल्प, हेल्प ।’ उनले जमिन र ठाउँको अवस्थाबारे बताए, ‘मान्छेहरुले हेरिरहेका छन् तर कसैले तल झरेर हात दिने हिम्मत राखेन । त्यस्तो थियो, त्यहाँको जमिन र मान्छेहरुको अवस्था ।’
बाटोमा निस्किएपछि वरिपरीका मान्छेहरु आए । अन्नपूर्ण पदमार्गका पर्यटकहरु पनि भेला भए । मान्छेहरुले अंगालो हाले । कपडा धुजा, धु्जा थियो, उनीहरुले नै लगाइदिए । ‘खल्तीको चस्मा त हातले माडेको भुजियाजस्तो भएको रहेछ । म कसरी फर्किएँ भनेर त्योबेला अझ झसंग भएँ,’ उनले सुनाए ।
त्यहाँका मान्छेहरुले उनलाई सिनुवा पुर्याएर राखे । पदमार्गभरि मान्छेका लस्कर थिए । केके भयो, कति मान्छे परे जगदीशलाई केही थाहा थिएन । मान्छेहरुले अनेक कुरा गरिरहेका थिए । बाँचेर फर्किएका जगदीशसँग धेरैले घटनाबारे सोधिरहेका थिए ।
भएका सबै कुरा पहिरोसँगै बग्यो । सिनुवाका होटलका सञ्चालकसँग मोबाइल र केही नम्बर मागे । टावर टिप्ने ठाउँमा पुगेर सबैतिर खबर गरेको उनी बताउँछन् । ‘नयाँ पुलको एक्याप चेक पोस्टमा फोन उठेन । त्यसपछि १०० मा कल गरे । यथार्थ बताए,’ उनले भनें, ‘बिहान साढे १० बजेतिर पहिरो खसेको थियो ।’
हिमपातमा मान्छेका लस्कर
अन्नपूर्ण बेसक्याम्पमा पाइला टेक्ने उत्कट चाहनाले ज्यानमा ऊर्जा थपिँदै थियो, जगदीशमा । देउरालीमा बिहानैदेखि हिउँ परिरहेको थियो । चिसो छिरेटोको पर्वाह थिएन । हिँउको मजा लिँदै मान्छेहरु हिँडिरहेका थिए । पदमार्गभरि बेसक्याप हिँडेका मान्छेहरुको लस्कर थियो । त्यही लस्करमा थिए जगदीश पनि ।
एक जना चिनियाँ पर्यटक । उनको गाइड थिए, सरोज परियार । सरोजका साथी बनेर गएका थिए जगदीश । देउरालीमा अघिल्लो रातभर नै हिउँ परेको उनले बताए । देउराली अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्छ । देउरालीमा बिहीबार ३ बजे नै उनीहरु पुगिसकेका थिए । देउरालीका होटल हिउँले छोपिएका थिए ।
‘अन्नपूर्ण जाने एउटामात्र रुट छ । वरिपरी ६०-७० जनाको लस्कर थियो तर २-३ मिटर परको मान्छे पनि देखिँदैनथ्यो,’ उनले भने, ‘बोक्लो हुस्सु, त्यसमाथि हिँउ परिरहेको थियो । पदयात्रामा बढी बिदेशी पर्यटक थिए । प्लास्टिक ओढेर मान्छेहरु हिँडिरहेका थिए ।’
बिहान साढे १० बजेतिर हिउँकु गुफा र देउराली बीचतिर पुगेको उनी बताउँछन् । ठूलो बेगले हावा चलेर मान्छेहरुको लस्करमाथि नै एक्कासी हिम पहिरो खस्यो ।