बेइजिङमा इरान–चीन उच्चस्तरीय वार्ता, युद्धविराम र होर्मुज जलमार्ग मुख्य एजेन्डा
इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन्। पाकिस्तान, ओमान र रुसको भ्रमणपछि उनी बुधबार बेइजिङ पुगेका हुन्।
बेइजिङमा उनले चिनियाँ विदेशमन्त्री वाङ यीँगसँग महत्वपूर्ण वार्ता गरेका छन्। इरानी विदेश मन्त्रालयका अनुसार वार्तामा युद्धविराम कायम राख्ने र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य एजेन्डा बनेको छ।
यो भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे १४–१५ मा हुने चीन भ्रमणअघि भएको हो, जहाँ उनको भेट चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने तय छ। उक्त भेटमा व्यापार सम्झौतासँगै पश्चिम एशियाको सुरक्षा अवस्था पनि छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ।
चीनले अमेरिकी नाकाबन्दीको आलोचना गर्दै आएको छ भने होर्मुज जलमार्ग बन्द राखेको विषयमा इरानमाथि दबाब पनि बढाइरहेको छ। दुवै देशबीचको पछिल्लो वार्ताले क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ।