कर्णाली प्रदेश समन्वय परिषद्को ११औँ बैठक सुरु, नीति–बजेट र समन्वयका विषयमा छलफल
कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक आज सुर्खेतको वीरेन्द्रनगरमा मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सुरु भएको छ।
बैठकमा अघिल्लो बैठकका निर्णयहरूको पुनरावलोकन, स्थानीय तहका कर्मचारीको अवस्था, प्रदेश र स्थानीय तहबीच विकास आयोजना सञ्चालनमा समन्वय तथा साझा अधिकारका विषयमा छलफल भइरहेको छ। साथै, स्थानीय तहबाट प्रदेशलाई पठाइने राजस्व, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट तर्जुमाबारे पनि विचार-विमर्श गरिने जनाइएको छ।
प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवका अनुसार बैठकले प्रदेश–स्थानीय तह समन्वयलाई थप प्रभावकारी बनाउने, बेरुजु फर्छ्योटमा क्षमता विकास गर्ने, स्थानीय तहका कानुनको अभिलेखीकरण गर्ने तथा कानुन निर्माणसम्बन्धी विषयमा आवश्यक निर्णय गर्नेछ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीविक्रम शाहसहित विभिन्न महासंघ र जिल्ला समन्वय समितिका प्रतिनिधिहरू सहभागी छन्।