कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि यात्रा अनुमति, उद्धार प्रक्रिया जारी
थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) तयार गरी पठाएको छ।
दूतावासका अनुसार अनलाइन फाराम भरेका व्यक्तिहरूको विवरणका आधारमा उक्त कागजात तयार गरिएको हो। बुधबार बेलुकासम्म फाराम भर्नेहरूको लागि पनि डकुमेन्ट पठाइने र बाँकी रहेका नेपालीलाई तत्काल विवरण बुझाउन आग्रह गरिएको छ।
यसअघि पनि दूतावासले बिनाभिसा अवैध रूपमा बसिरहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश फिर्ता गरिसकेको छ। उनीहरूलाई विभिन्न प्रलोभनमा पारी अनलाइन स्क्यामिङ तथा गैरकानुनी गतिविधिमा लगाइएको पाइएको थियो।
दूतावासले कम्बोडियामा रहेका अन्य नेपालीलाई पनि उद्धार गर्ने प्रयास जारी रहेको जनाएको छ।
त्यस्तै, कम्बोडिया सरकारले अनलाइन स्क्यामिङविरुद्ध कडा कानून लागू गरेको छ, जसअनुसार दोषीलाई ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ।
दूतावासले भिजिट भिसामा रोजगारीका लागि विदेश नजान र श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुनः आग्रह गरेको छ।