फिलिपिन्समा आँधी : मृत्यु हुनेको संख्या २८ पुग्यो
(मनिला) फिलिपिन्सको मध्यक्षेत्रमा आएको विनाशकारी आँधीका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । फिलिपिन्समा बिहीबार आएको आँधीले जलमग्न ओर्मोक सहरस्थित राजमार्ग । तस्बिर : एएफपी
‘फानफोन’ आँधीका कारण देशको मध्यक्षेत्रका भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण सयौं घरहरू ध्वस्त भएका छन् भने हजारौंमा विद्युत् सेवा अवरुद्ध भएको छ । अधिकारीका अनुसार कैयौं मानिस हराइरहेका छन् भने हजारौं मानिस उद्धारको प्रतीक्षामा छन् ।
गत मंगलबार हल्का वर्षा गराएको आँधीले बुधबार साँझ क्रिसमस मनाइरहेका मानिसलाई दुःखदिएको थियो ।आँधीले बिहीबार वितण्डा मच्चाउनुअघि ५८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय सञ्चारमध्यमका अनुसार कम्तीमा १५ हजार मानिस जोखिममा छन् । उक्त क्षेत्रमा डुंगाहरू सञ्चालनका गर्न नसकिएपछि उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ ।
फिलिपिनो अधिकारीका अनुसार आँधीका कारण इलोइलो र कापिज प्रान्त नराम्ररी प्रभावित भएका छन् । फिलिपिनो समाचार संस्था एबीएस–सीबीएन नेटवर्कका अनुसार आँधीका कारण घर डुबानमा परेपछि अग्लो स्थानमा जाने क्रममा एउटा परिवार बगेको थियो । इलोइलो प्रान्तमा कम्तीमा १२ जना मानिस हराइरहेको एबीएस–सीबीएनले जनाएको छ ।
फिलिपिन्स रेडक्रसका अध्यक्ष रिचार्ड गोर्डनले भने, ‘आँधीका कारण धेरै मानिसको ज्यान गएको छ, कतिपय खाना र सुरक्षितका बासस्थानको पर्खाइमा छन् ।’ उनका अनुसार दुवै प्रान्तका अधिकांश घरमा अवरुद्ध भएको खानेपानी तथा विद्युत् सेवा सुचारु गर्न कम्तीमा एक साता लाग्ने देखिएको छ ।
त्यसैगरी, लोकप्रिय पर्यटकीय टापु बोराके आँधीका कारण निकै क्षतिग्रस्त भएको जनाइएको छ । कोरियाली पर्यटक जुङ बायुङ–जुनका अनुसार उक्त क्षेत्रमा घुम्न जाने पर्यटक उत्रने कालिबो विमानस्थल नराम्ररी प्रभावित छ । ‘सबै सडकहरू अवरुद्ध छन् । सुचारु गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
ताक्लोबन सहरमा आँधीका कारण उत्पन्न तीव्र गतिको हावासँगै आगलागी फैलिएको बीबीसीले उल्लेख गरेको छ । उक्त सहरको जनसंख्या २ लाख २० हजार रहेको छ । त्यसैगरी, आँधीले सान जोसे सहरमा समेत क्षति पुर्याएको छ । अधिकारीका अनुसार तटीय क्षेत्रका संरचना तथा माछा मार्ने डुंगाहरू क्षतिग्रस्त बनेका छन् । ‘फानफोन’ ले सन् २०१३ मा आएको अत्यन्तै विनाशकारी आँधी हैयानको बाटो पछ्याएको एएफपीले जनाएको छ । हैयानका कारण कम्तीमा ७ हजार ३ सय जनाको ज्यान गएको थियो ।
‘यो हैयानको सानो भाइजस्तो छ । यसले त्यसको तुलनामा कम क्षति पुर्याएको छ, तर बाटो उही पछ्याएको छ,’ पश्चिमी भिसायाजको विपद् विभागका सूचना अधिकारी सिन्डी फेररले भने ।