कारवाहीमा परेका तीन खेलाडीले नेपालमै हुन लागेको ‘साग’ समेत खेल्न नपाउने
(काठमाडौं) अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुशासनको कारवाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीले नेपालमा हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समेत खेल्न नपाउने भएका छन् । राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुन लागेको सागमा सहभागी हुन नपाउने भएका हुन् ।
विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । यसलाई एन्फाले निरन्तरता दिएपछि दुई दशकपछि नेपालमा हुन लागेको साग खेलकुदमा सहभागी हुनबाट तीन खेलाडी वञ्चित हुन लागेका हुन् ।
गत मंसिर ३ गते भूटानमा हुन लागेको विश्वकप छनोटअन्तर्गत कुवेतसँग हुने खेलको लागि बिदाई गर्ने अघिल्लो रात खेलाडीहरु ठमेलस्थित नाइट क्लबमा भेटिएको पाइएपछि एन्फाले विमल सहित तीन खेलाडीहरुलाई नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारवाही गरेको थियो । कारवाहीमा परेका उनीहरुलाई एन्फाले निरन्तरता दिँदै नेपालमा हुन लागेको साग खेलकुदमा समेत सहभागी नगराउने निर्णय गरेको हो ।
साग टिमका प्रशिक्षक वालगोपाल महर्जनले तीन खेलाडीले नखेल्ने र नयाँ खेलाडी टिममा राखिने बताए ।
कारबाहीमा परेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनलाई समावेश गरिएको छ ।