८१ प्रतिशत पुनर्निर्माण सम्पन्न
(खोटाङ) खोटाङमा भूकम्पपछिको पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको छ। महाभूकम्प गएको चार वर्ष बित्दा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय खोटाङले जनाएको छ।
२०७२ वैशाख १२ गतेको भूकम्प र परकम्पका कारण घरविहीन बनेका पीडितमध्ये पुनर्निर्माणतर्फका आठ हजार चार सय ६२ र प्रबलीकरणतर्फका तीन सय ६१ परिवार गरी कुल आठ हजार आठ सय २३ लाभग्राही रहेको जिल्लामा गत कात्तिक मसान्तसम्ममा पाँच हजार पाँच सय सात परिवारलाई तेस्रो किस्ता, ६ हजार सात सय १० परिवारलाई दोस्रो किस्ता र आठ हजार तीन सय ३२ परिवारलाई पहिलो किस्ता वितरण गरिसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालयका नासु मणिराम ढकालले बताए।
कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ताबापत ५० हजार, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ताबापत एक लाख ५० हजार र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ताबापत एक लाख बुझेको कार्यालयले जनाएको छ। जम्मा एक लाख पाउने प्रबलीकरणतर्फका दुई सय ३० परिवारले पहिलो किस्ताबापत ५० हजार बुझेको नासु ढकालले जानकारी दिए।
खोटाङमा २०७४ वैशाख ३ गतेदेखि सम्झौता सुरु गरेको पुनर्निर्माण प्राधिकरणले २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता बितरण थालेको थियो। किस्ता बुझेर अझै आवास निर्माणको काम सुरु नगर्ने लाभग्राही पनि उत्तिकै छन्।