प्रधानमन्त्रीको भावी उपचार रणनीति तय गर्न चिकित्सकहरू छलफलमा
(काठमाडौँ) प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरू उहाँको भावी उपचार सम्बन्धमा अहिले छलफलमा जुटेका छन् ।
एकपछि अर्को स्वास्थ्य समस्याका कारण प्रधानमन्त्रीको स्वास्थ्य कमजोर भएपछि अहिलेसम्म भएका उपचारको समीक्षा गर्दै आगामी दिनमा उहाँको थप उपचार कसरी गर्ने भन्नेबारे उपचारमा संलग्न चिकित्सकहरुको बैठक बसेको हो ।
डा. अरुण सायमीको संयोजकत्वमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमै बैठक बसी छलफल भइरहेको हो । हाल सो सेन्टरमै एपेन्डिसाइटिसको शल्यक्रियापश्चात् उहाँ आराम गरिरहनुभएको छ । थप उपचार तथा आरामका लागि उहाँलाई ट्रान्सप्लान्ट सेन्टरमै राखेर राख्ने या शिक्षण असपतालमा सार्ने बारे छलफल भइरहेको जनाइएको छ ।
मनमोहनमा मृगौलाको डाइलासिस मेसिन नभएकाले प्रधानमन्त्रीलाई शिक्षण असपतालमा सार्न छलफल थालिएको हो । प्रधानमन्त्री ओलीको मंगलबार शल्यक्रिया गरिएको थियो भने बुधबार पाचौँपटक मृगौलाको डायलासिस गरिएको छ ।