एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को सक्रिय राजनीतिमा औपचारिक रूपमा फर्किएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसहित पद तथा गोपनीयताको शपथ गराएका छन्।
पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष ओलीले भण्डारीलाई शपथ गराएका हुन्। शपथ ग्रहणसँगै भण्डारी एमालेको उच्च तहको जिम्मेवारीमा औपचारिक रूपमा प्रवेश गरेकी छन्।
राष्ट्रपति पदमा रहँदा भण्डारी दलीय राजनीतिबाट अलग रहेकी थिइन्। राष्ट्रपति पदको कार्यकाल पूरा गरेपछि उनको आगामी राजनीतिक भूमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो।
अन्ततः एमालेको नेतृत्व तहमा जिम्मेवारी पाएसँगै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। उनको पुनरागमनलाई एमालेभित्रको संगठनात्मक तथा राजनीतिक गतिविधिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। भण्डारी यसअघि एमालेकी उपाध्यक्षसमेत रहिसकेकी थिइन्। राष्ट्रपति बन्नुअघि उनी एमालेको सक्रिय राजनीतिमा थिइन्।