नागढुंगा सुरुङमा छिरेका ३ दुईपांग्रे सवारीलाई कारबाही
काठमाडौं । नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा प्रवेश गरेका तीनवटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
धादिङको नौबिसेतर्फबाट सुरुङमा प्रवेश गरेका दुई मोटरसाइकल र एउटा स्कुटरलाई निषेधित क्षेत्रमा सवारी चलाएको कसुरमा ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा पर्नेमा बागमती प्रदेश–०२–०५१ प ५९९७ नम्बरको स्कुटर तथा गण्डकी प्रदेश–३–००१–१४३३ र बीएएबी १०७२ नम्बरका मोटरसाइकल रहेका छन्।
सुरक्षाका कारण नागढुंगा सुरुङभित्र दुईपांग्रे सवारी, पैदल यात्रु, तीनपांग्रे सवारी तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ।
सुरुङ सञ्चालन भएयता हालसम्म ३२ वटा दुईपांग्रे सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय एउटा मोटरसाइकल नागढुंगातर्फबाट सुरुङमा प्रवेश गरी नौबिसे निस्किएको सीसीटीभीमा देखिएपछि प्रहरीले उक्त सवारीको खोजी गरिरहेको छ।