डीपी कँडेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले जनसम्पर्क समिति एसिया क्षेत्र (गल्फ क्षेत्रबाहेक) बाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका कँडेलले पार्टीको भुइँ तहदेखि संगठन निर्माणमा सक्रिय रहँदै आएको बताएका छन्। उनले लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र बीपी कोइरालाको विचारलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएको उल्लेख गरेका छन्।
कँडेलले नेपाली कांग्रेस जनसम्पर्क समिति जापानको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। प्रवासमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई संगठित गर्दै पार्टीको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा आफू सक्रिय रहेको उनको भनाइ छ।
प्रवासमा रहेका कांग्रेसजनको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको कँडेलले बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मत दिएर विजयी गराउन अपिलसमेत गरेका छन्।