हिमालयन रि प्रकरणमा दीपक भट्टसहित २० विरुद्ध मुद्दा दायर
हिमालयन रि–इन्स्योरेन्सको रकम अपचलन तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, पूर्वसीईओ उपासना पौडेलसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो कायम गर्दै सो बराबरको रकम असुल, दोब्बर जरिवाना, कैद तथा सम्पत्ति जफतको मागदाबी गरेको छ।
अभियोगपत्रअनुसार हिमालयन रिबाट एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई २८ करोड रुपैयाँ पेस्की दिइएको र त्यसमध्ये २३ करोड ९२ लाख रुपैयाँभन्दा बढी रकम फर्जी कागजातमार्फत खर्च देखाएर फर्छ्यौट गरिएको दाबी गरिएको छ।
यस्तै, भट्टले सो रकममध्ये २१ करोड १५ लाख रुपैयाँ व्यक्तिगत लाभका लागि विभिन्न खातामार्फत स्थानान्तरण गरी बैंकिङ ऋण तथा अन्य दायित्व भुक्तानीमा प्रयोग गरेको आरोप लगाइएको छ। मुद्दामा प्रतिवादीमाथि लगाइएका आरोप अदालतबाट पुष्टि हुन बाँकी छ।