कांग्रेस विभाजन रोक्न पहल गर्छु : चिरीबाबु महर्जन
ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टीभित्रको विभाजन रोक्न पहल गर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका महर्जनले आफू निर्वाचित भए कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन भूमिका खेल्ने दाबी गरे। पार्टी एक हुन नसक्दा विभिन्न समस्या उत्पन्न भएको उनको भनाइ छ।
‘म निर्वाचित भएको अवस्थामा कांग्रेस विभाजित हुनबाट रोक्छु। त्यसका लागि वैचारिक र सांगठनिक रूपमा कस्तो कदम चाल्नुपर्छ, त्यस विषयमा म निरन्तर आवाज उठाउँछु र काम गर्छु,’ महर्जनले भने।
उनले कांग्रेसमा पुनः विभाजनको अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको बताए। पार्टीभित्रको विभाजन अन्त्य गर्दै जनताका अपेक्षा पूरा गर्नुपर्नेमा उनले जोड दिए।
‘नेपाली कांग्रेसमा यस्तो किसिमको विभाजन नहोस् भन्ने मेरो चाहना छ। त्यसपछि जनताले डेलिभरी खोजेका छन्। डेलिभरी दिन सकिरहेका छैनौँ,’ उनले भने।