रौतहटमा फरार ३७ जना प्रतिवादी पक्राउ
रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाबाट कुल ७ वर्ष २ महिना २७ दिन कैद सजाय र २ लाख ७३ हजार ७७७ रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार उनीहरू जालसाजी, कुटपिट तथा अङ्गभङ्ग, विद्युतीय कारोबार, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, बाल शोषण, जबर्जस्ती करणी, चेक अनादरलगायतका मुद्दामा दोषी ठहर भएका थिए।
प्रहरीको १० दिने विशेष अभियानअन्तर्गत पक्राउ परेका ३७ जनालाई आवश्यक कारबाही तथा कैद र जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रहरीले जनाएको छ।