टेलिमेडिसिन सेवा प्रभावकारी र दिगो बनाउनेबारे छलफल
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुख सहभागी थिए।
छलफलमा टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक बजेट, जनशक्ति र संस्थागत व्यवस्थापनबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। सेवाका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरी सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो।
यस्तै, टेलिमेडिसिनमार्फत प्रदान गरिने सेवाको अभिलेख व्यवस्थित गर्ने, बिरामीका विवरण सुरक्षित राख्ने तथा चिकित्सकीय परामर्शसम्बन्धी जानकारीको व्यवस्थित अभिलेखीकरण गर्ने विषयमा छलफल भएको छ।
बैठकमा सेवा विस्तारसँगै आउन सक्ने चुनौती पहिचान गरी पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको थियो। विशेषगरी सेवाग्राहीको पहिचान प्रमाणीकरणलाई विश्वसनीय बनाउने र टेलिमेडिसिनप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकता दिइएको छ।
मन्त्री मेहताले टेलिमेडिसिनलाई प्रविधिमा आधारित सेवामात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन्। उनले सेवा विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय सुधार गर्दै कार्ययोजना अघि बढाउन निर्देशन दिइन्।