कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौं । कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका हुन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका २८ वर्षीय पाण्डेलाई असोज २० गते रानीबारी चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जाल टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियोका आधारमा अनुसन्धान गर्ने क्रममा पाण्डे पक्राउ परेको प्रहरीले जनाएको छ।
पाण्डेविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।