संसद् परिसरमा जेन–जी मेमोरियल पार्कको शिलान्यास
काठमाडौंको संसद् भवन परिसरमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा निर्माण गर्न लागिएको जेन–जी मेमोरियल पार्कको शिलान्यास गरिएको छ।
आइतबार सरकार र जेन–जी शहीद परिवारका प्रतिनिधिले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन्। पार्कले आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्य राखेको छ।
शिलान्यास कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले जेन–जी आन्दोलनका क्रममा व्यक्त भएका सपना र शहीदहरूको बलिदानलाई सार्थक बनाउने दिशामा सरकार अघि बढिरहेको बताए। पार्क निर्माण मात्रले शहीदहरूले न्याय पाउने अवस्था नबन्ने भन्दै उनीहरूको योगदान र जनताको अपेक्षा पूरा गर्न अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले विगतका विभिन्न आन्दोलनले राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गरी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्ने बताए।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी शहीदहरूको सम्झनामा संसद् परिसरमा मेमोरियल पार्क निर्माण गर्ने निर्णय गरेको थियो।