त्रिशूलीमा पुल बगेपछि विदुरसँग सम्पर्क जोड्न पाँच स्थानमा तुइन निर्माण
नुवाकोट । त्रिशूली नदीमा आएको बाढीले पुल र सडकमा क्षति पुर्याएपछि नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्न विभिन्न स्थानमा तुइन निर्माण थालिएको छ।
बाढीका कारण भदौ १० गतेदेखि विदुर हुँदै रसुवासम्मको सडक यातायात अवरुद्ध छ। सडक सम्पर्क विच्छेद हुँदा खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएपछि तत्काल आवागमन सहज बनाउन तुइन निर्माण अघि बढाइएको हो।
विदुर–१ इन्द्रायणी चौरदेखि गुम्बा जोड्ने करिब ३०० मिटर लामो तुइन निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालका लागि औषधि तथा अन्य अत्यावश्यक सामग्री ओसारपसार सहज बनाउन निर्माण गरिएको उक्त तुइन मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी छ।
यस्तै, बाढीले देवीघाटको पक्की पुल बगाएपछि विदुर र बेलकोटगढी नगरपालिकाबीच सम्पर्क जोड्न अर्को तुइन निर्माण गरिने भएको छ। उक्त तुइनको निर्माण मंगलबारदेखि सुरु गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बाढीले नुवाकोट र रसुवामा गरी १८ वटा पक्की पुलमा क्षति पुर्याएको छ। विशेषगरी किस्पाङ तथा रसुवाका ठूलोगाउँ, डाँडागाउँलगायत त्रिशूली नदीपारिका बस्ती सडक सम्पर्कबाट विच्छेद भएका छन्।
नेपाली सेना, स्थानीय पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाको प्राविधिक सहयोगमा त्रिशूली नदी पार गर्न पाँच स्थानमा तुइन निर्माण गर्ने तयारी गरिएको छ। एउटा तुइन निर्माणमा करिब १५ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ।
यसैबीच, दीर्घकालीन रूपमा सडक सम्पर्क पुनःस्थापित गर्न बेलिब्रिज निर्माणका लागि प्राविधिक अध्ययनसमेत सुरु गरिएको छ। नेपाली सेनाको प्राविधिक टोलीले ढुङ्गेबगर, त्रिशूली बजार, देवीघाट र बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माणका लागि अध्ययन गरिरहेको छ।
तत्कालका लागि तुइनमार्फत आवागमन सहज बनाउने र त्यसपछि बेलिब्रिज तथा स्थायी पुल निर्माण गरी अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्ने तयारी गरिएको छ।