देशभरका नदीमा बहाव उच्च रहने, १७ जिल्लामा बाढीको उच्च जोखिम
काठमाडौं । लगातारको वर्षाका कारण आइतबार देशभरका नदी तथा खोलामा पानीको बहाव उच्च रहने भएकाले बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित उपत्यकाबाहिरका पहाडी तथा मधेसका ३४ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्ला तथा बागमतीका केही जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। गण्डकीका लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ र स्याङ्जा तथा लुम्बिनीका रूपन्देही, कपिलवस्तु, नवलपरासी पूर्व–पश्चिम, पाल्पा, गुल्मी र चितवनका साना नदीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी, कोशी, नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। नारायणी नदीका बुढीगण्डकी, मर्स्याङ्दी, सेती, माडी, बडिगाड र कालीगण्डकीमा पानीको बहाव थप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी तथा खोलाको आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।