पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध
मध्यपहाडी लोकमार्गअन्तर्गतको पोखरा–बागलुङ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। पर्वतको तमादी खोलामा पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो।
पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उनले बताए।
यसैगरी, पर्वतको सहस्रधारामा कालीगण्डकी नदीले सडक कटान गरेको छ। नदीको कटानका कारण पोखरालाई म्याग्दी र मुस्ताङसँग जोड्ने सडकसमेत अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। लगातारको वर्षाका कारण थप पहिरो तथा सडक कटानको जोखिम रहेकाले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।