अविरल वर्षापछि हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–कुलेखानी सडक बन्द
अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–कुलेखानी सडकखण्ड बन्द भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ किटिनीस्थित सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख डिभिजनल इन्जिनियर सुजन भण्डारीका अनुसार २०८१ सालको वर्षाका कारण जीर्ण बनेको उक्त सडकखण्ड पुनः भासिएको हो। त्यसबेला सडक भत्काएर केही संरचना थप गरी सञ्चालनमा ल्याइएको थियो।
हाल सडक भासिएको स्थानमा सडकको सानो भाग मात्र बाँकी रहेको भण्डारीले बताए। उक्त सडकखण्ड पूर्ण रूपमा फिलिङ माटोमा आधारित रहेकाले अहिलेको वर्षाका कारण पुनः संरचना निर्माण गरेर तत्काल मर्मत गर्न कठिन रहेको उनको भनाइ छ।
वर्षा भइरहेकाले हाल सो स्थानमा काम गर्न सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। थप मर्मतका क्रममा सडकमा लोड बढाउँदा पूर्ण रूपमा क्षति हुन सक्ने जोखिम रहेकाले सतर्कताका लागि सवारी आवागमन रोकिएको भण्डारीले बताए।
हाल सडकको जिओटेक्निकल इन्भेस्टिगेसन भइरहेको छ। अध्ययनपछि दुई–तीन दिनभित्र सडकको स्थायी समाधानका विषयमा निर्णय गरिने भण्डारीले जानकारी दिए।
उनका अनुसार वर्षा रोकिएर घाम लागेपछि अवस्था हेरी सामान्य रूपमा एकतर्फी सवारी सञ्चालन गर्न सकिने सम्भावना छ। सडक बन्द भएपछि हेटौँडा–काठमाडौँ आवतजावत गर्ने सवारीसाधनलाई वैकल्पिक बाइपास सडक प्रयोग गर्न आग्रह गरिएको छ।