पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आज बिहान पहिरो खस्दा स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो।
पहिरोमा परी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।
घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलतर्फ खटाइएको छ। प्रहरीले अहिले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।