खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित
खराब मौसम र अपर्याप्त भिजिबिलिटीका कारण आज आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन्। मौसममा आएको खराबीका कारण पहाडी तथा तराईका केही गन्तव्यको उडान तालिका प्रभावित भएको हो।
बुद्ध एयरका अनुसार कम भिजिबिलिटीका कारण भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान सञ्चालन हुन सकेको छैन। मौसममा सुधार आई भिजिबिलिटी पर्याप्त नबढेसम्म यी गन्तव्यका उडान सुचारु गर्न नसकिने कम्पनीले जनाएको छ।
पोखरा विमानस्थलमा भने भिजिबिलिटी क्रमिक रूपमा सुधार हुँदै गएको बुद्ध एयरले जनाएको छ। भिजिबिलिटीमा थप सुधार आएपछि पोखराका लागि उडानहरू नियमित हुने अपेक्षा गरिएको छ।
यस्तै, प्रतिकूल मौसमका कारण आजका लागि तय गरिएका सम्पूर्ण माउन्टेन फ्लाइटसमेत रद्द भएका छन्। कम भिजिबिलिटीका कारण हिमाल देख्न नसकिने तथा उडान सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुने भएकाले माउन्टेन फ्लाइट रद्द गरिएको बुद्ध एयरले जनाएको छ।
मौसमको अवस्था र भिजिबिलिटीअनुसार अन्य गन्तव्यका उडानसमेत प्रभावित हुन सक्ने भएकाले यात्रुहरूलाई सम्बन्धित वायुसेवासँग उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।